logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टामा अब गाउँपालिकाको आफ्नै एम्बुलेन्स


  • उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नै एम्बुलेन्स खरिद गरेको छ ।

यसअघि पालिकाको एम्बुलेन्स नहुँदा विपन्न तथा गरिब बर्गका व्यक्ति बिरामी पर्दा अस्पतालसम्म पुर्याउन समस्या हुँदै आएको थियो । गाउँपालिका अध्यक्षकै गाडी नै गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउन बारम्बार प्रयोग गरिएको छ ।

अब भने गाउँपालिकाले सहुलियत दरमा एम्बुलेन्स सञ्चालन गर्ने गरी खरिद गरेर ल्याएपछि आर्यआर्जन कम भएका परिवार खुसी भएका छन् । निजी एम्बुलेन्स लिएर जनकपुर, वीरगञ्ज, काठमाडौंलगायतका शहरमा जाँदा एम्बुलेन्स भाँडा नै महँगो पर्ने गरेको गुनासो स्थानीयले गरेका छन् ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले न्यून आयआर्जन भएको परिवारका बिरामीलाई अस्पतालसम्म आउजाउ गर्न सहज होस् भनी एम्बुलेन्स खरिद गरिएको बताए । गाउँपालिकाका जनप्रतिनिधिले शपथ ग्रहणकै दिन पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार राजस्व छुटमा २० लाख १० हजार रुपियाँ खर्चिएर एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

उनका अनुसार एक साताभित्र चालकको व्यवस्था गरी एम्बुलेन्स सञ्चालन गरिने छ ।

यस्तै, चक्रघट्टा गाउँपालिकाले ४२ लाख ४० हजार रुपियाँमा आफ्नै डोजर समेत खरिद गरेको छ । यसअघि भाडामा डोजर ल्याएर चलाउने गरिएको थियो ।

आफ्नै डोजर भएपछि अब भाडाको रकम बच्ने र बाटोघाटो बनाउनेसहित अन्य निर्माणका काममा प्रयोग हुने गाउँपालिकाले जनाएको छ ।