logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हत्या अभियोगमा एक भारतीय जेल चलान


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा अर्का एक भारतीय नागरिक आइतबार कारागार चलान भएका छन् ।

सोही अभियोगमा संलग्न अन्य ४ भारतीय अझै फरार छन् ।

हत्या अभियोगमा पक्राउ परेका भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २६ वर्षीय राजेश महतो सुढीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय शेखर सन भनिने सिकु कुमारको घाँटी काटी विभत्स हत्या गरिएको थियो । हत्यापश्चात अनुसन्धानमा जुटेको प्रहरीले जेठ १० गते सुढीलाइ नियन्त्रणमा लिएको थियो ।

भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भई मनमुटाव हुँदा सुढीले योजनाबद्घ तरिकाले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार हत्यामा संलग्न अन्य ४ जना भारतीय नागरिक अझै फरार छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।