logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पनि चर्को घाम लागेर हपक्क गर्मी, किसान वर्षाको प्रतिक्षामा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज पनि बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी छ ।

यस क्षेत्रमा हिजोबाट गर्मी ह्वात्तै बढेको हो । हिजो दिनभर टन्टलापुर घाम लागेर हावा नै नचल्दा हपक्क गर्मी थियो । आजको मौसम पनि त्यस्तै छ । गर्मीले प्रत्येक मानिस अपिनपसिन भएर बसिरहेका छन् । यही गर्मीमा जिल्लाको दक्षिणी भेगमा भने छिनछिनमै बिजुली बत्ती गइरहने र घण्टौँसम्म नआउने समस्याले स्थानीयवासी हैरान भएका छन् ।

गर्मीका कारण घरबाहिर निस्कन पनि गाह्रो परेको गुनासो सर्वसाधारणले गरेका छन् । चर्को घाम र उकुसमुकुस गर्मीमा पनि बाहिरको काम गर्नुपर्ने मजदुर र किसान थप प्रभावित बनेका छन् ।

बालबालिकालाई विद्यालय जान र कक्षाकोठामा बसेर पढ्न समस्या परेको छ । यस क्षेत्रमा पानी पर्न रोकिएपछि अत्यधिक मात्रामा गर्मी र तापक्रम बढेको हो । पानी पर्न ठप्प हुँदा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा धान रोपाइँ ठप्प भएको हाम्रा संवाददाताले जनाएका छन् ।

रोपाइँ भइसकेको खेतमा पनि पानी सुकेर धाजा फाट्न थालेको छ । यहाँका किसान पर्याप्त आकाशे वर्षा भइदिए हुन्थ्यो भन्ने आशमा बसेका छन् । कुलो तथा नहरको पानी लाग्ने र पप्पसेट चल्ने क्षेत्रमा भने धान रोपाइँ जारी रहेको छ ।

पानी लाग्ने क्षेत्रमा रोपिसकेको रोपोमा हरियो फिर्न थालेको छ । तर, आकाशे वर्षाको विकल्प नरहेको क्षेत्रका किसान भने पानीको अभावमा छटपटिएका हुन् । यहाँको ईश्वरपुर, हरिवन, बागमती र लालबन्दी नगरपालिकाको उत्तरी बेल्टका किसानले आकाशे वर्षाकै भरमा खेती लगाउँदै आएका छन् ।