logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भारतीय सरकारबाट तीनघरे माविले पायो बस


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको माध्यमिक विद्यालय तीनघरेलाई विद्यालय बस प्राप्त भएको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको ग्रामीण भेगमा पर्ने यस विद्यालयले स्कुल बस प्राप्त गरेको हो । भारतीय राजदुतावास लैनचौर, काठमाडौंबाट आइतबार प्राप्त भएको बस विद्यालयमा ल्याएर राखिएको प्रधानाध्यापक जयराज भट्टराईले जानकारी दिए ।

भारत सरकारले देशभर ५० वटा विद्यालय बस र ३४ वटा एम्बुलेन्स वितरण गर्दा परवानिपुरको यो विद्यालयले पनि एउटा बस प्राप्त गरेको हो । गाउँको विद्यालयलाई बस प्राप्त भएपछि गाउँले, अभिभावक, शिक्षक र विद्यार्थीले खुसी व्यक्त गरेका छन् ।

वडाध्यक्ष गणेशबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द अधिकारी, स्थानीयलगायत भएर पूजापाठ गरी विद्यालयमा बस भित्र्याएका छन् । जिल्लामा एका–दुई सामुदायिक विद्यालयसँग मात्रै विद्यालय बस छन् । मा.वि. तीनघरेका प्रधानाध्यापक भट्टराईले टाढाबाट आउने विद्यार्थी ओसारपसार गर्न विद्यालय बस प्रयोग गरिने बताए ।

देउराली, भोर्लेनी, भमरा, आँपचौडीलगायत स्थानबाट विद्यार्थी ल्याउनका लागि विद्यालय बस प्रयोग गर्ने तयारी रहेको प्रधानाध्यापक भट्टराईको भनाई छ । उनका अनुसार बसको बीमा गरिसकिएको छ । अब नम्वर प्लेट राखेर चालक नियुक्त गरी बस सञ्चालन गरिने छ ।

विद्यालय आफैले चालकको व्यवस्था गरी टाढाका विद्यार्थी ल्याउने–लाने कामका लागि बस प्रयोगमा ल्याउने तयारी भएको हो ।