लालबन्दी – साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भिड लाग्न थालेको छ ।
आज साउनको महिनाको पहिलो सोमबार जिल्लाभरका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो देखिन्थ्यो । यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तियासहित गाउँ–गाउँका शिव मन्दिरमा भक्तजनको भिड बढेको स्थानीय वासिन्दाले बताएका छन् ।
अब साउन महिनाभर प्रत्येक शिवर मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । मन्दिरमा दर्शनार्थीको भिड बढ्न थालेसँगै सुरक्षा सतर्कता बढाइएको छ । भिडमा हुन सक्ने चोरी तथा अन्य अप्रिय घटना रोक्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यहाँका सडकमा बोलबमका भक्तजनको चाप समेत दिनानुदिन बढ्दो छ ।
बोलबमयात्री सर्लाहीको विभिन्न भित्री सडक तथा पूर्व–पश्चिम राजमार्ग भएर महोत्तरीको टुटेश्वरनाथलगायतका प्रख्यात शिव मन्दिरसम्म पुग्ने गरेका छन् । ठूलो सङ्ख्यामा भारतीय बोलबम तिर्थयात्रीले समेत यहाँका सडक प्रयोग गरेर हिँड्ने गरेका छन् । २४ सैँ घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा समेत रातभर बोलबम यात्री पैदल हिँडेर गन्तव्यतर्फ गइरहेका हुन्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा दिनहुँ बोलबमयात्रीको चाप बढ्दो क्रममा रहेको छ । साउन लागेसँगै यहाँको लालबन्दी, बयलवास, हरिवन, मलङ्गवा, बरहथवा, नवलपुरलगायतका बजारमा चुरा, पोते, मेहेन्दीलगायत श्रृङ्गारका सामग्रीको व्यापार राम्रो भइरहेको व्यापारीले बताएका छन् ।