घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीको वडा कार्यालयले स्थानीय साना किसान कृषि सहकारी संस्थालाई अनुदानमा ट्याक्टर सहयोग गरेको छ ।
वडाले ८० प्रतिसत रकम बेहोरेर एक थान ट्याक्टर प्रदान गरेको वडाध्यक्ष नागेन्द्रकुमार साहले जानकारी दिए । वडाले १० लाख र सहकारी संस्थाले २ लाख ५० हजार खर्च बेहोरेर ट्याक्टर खरिद गरिएको हो ।
किसानलाई जोताई, ढुवानीलगायतका कृषि कार्यमा विशेष सहुलियत होस् भन्ने उद्देश्यले ट्याक्टर खरिदमा अनुदान प्रदान गरिएको वडाध्यक्ष साहले बताए ।
पछिल्लो समय उत्पादन लागत अत्यन्तै बढिरहेको तर उत्पादित कृषि उपजले राम्रो मूल्य नपाइरहेको अवस्थामा वडाले अनुदान दिएर खरिद गरिएको यो ट्याक्टरले किसानलाई उत्पादन लागत घटाउन सहयोग पुग्ने वडाध्यक्ष साहको विश्वास छ ।
कार्यक्रममा मेयर रमेश बुढाथोकी (कमल), समाजसेवी एवं नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, उपमेयर हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, हरिवन ४ का वडाध्यक्ष केशवराज थापा, हरिवन ६ का वडाध्यक्ष सन्तलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।