logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैतामा १५ बेडको अस्पताल भवन शिलान्यास


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–३, सीमरा भगवतिपुरमा बिहीबार १५ बेडको अस्पताल भवन शिलान्यास गरिएको छ ।

नगरपालिकाले सीमावर्ती क्षेत्रमा निर्माण गर्न लागेको नगर अस्पतालको नगर प्रमुख देवेन्द्र यादवले शिलान्यास गरेका हुन् । अस्पताल भवन निर्माणका लागि न्यू ड्राइगन निर्माण सेवा काभ्रेले १७ करोड ३७ लाख ५४ हजार ५०९ रुपियाँ ४३ पैसामा ठेक्का सकार गरेको नगर प्रमुख यादवले जानकारी दिए ।

सम्झौतामा चौबिस महिनाभित्र अस्पताल भवन तयार पारिसक्नुपर्ने उल्लेख छ । दुई तले अस्पताल भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्ररोग, प्याथोलोजी, अप्रेसन थिएटर, एक्सरे, प्रसुति, औषधि पसललगायतको सुविधा रहने गोडैता नगरपालिकाको स्वास्थ्य शाखाले जनायो ।

अस्पताल निर्माण भइ सञ्चालनमा आए पश्चात ग्रामीण भेगमा पर्ने आफ्नो नगरपालिका र आसपासको अन्य पालिकाका वासिन्दालाई सहज र छिटोछरितो रुपमा औषधि उपचार सेवा प्राप्त हुने नगर प्रमुख यादवको विश्वास छ । अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपरीक्षक सन्तोष ढुंगेल, निमित्त प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियार थारुलगायतको उपस्थिति थियो ।