फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा आज बिहानपख एक झर पानी परेको छ ।
वर्षा नहुँदा निराश भई बसेका किसानलाई बिहानको पानीले केही राहत दिएको छ । धान रोपाइँमा ब्यस्त रहेका किसानलाई पानीले सहयोग पुगेको हो ।
आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा केही दिनअघिको वर्षापछि रोपिएको धान खेतमा धाजा फाट्न थालिसकेको थियो । बिहानको पानीपछि ती खेतमा पानी जमेको किसानले बताएका छन् । कतिपय किसानले बिहानको पानीपछि रोपाइँ पनि सुरु गरेका छन् । तर, खेतमा अझै पनि गदारेर राख्ने गरी पर्याप्त पानी पर्नै नसकेको गुनासो किसानले गरेका छन् ।
३÷४ दिनदेखि निरन्तर मौसम धाम्मधुम्म भइरहेकोमा आज बिहान भने चट्याङसहित एक झर राम्रैसँग वर्षा भएको हो । बिहानको पानीपछि यहाँ गर्मी केही कम भएको छ । यो गर्मीमा रातिपख बत्ती गइरहने समस्याले जिल्लावासी हैरान छन् ।
यस्तै, सर्लाहीको मौसम अहिले कतै धुम्म हुने र कतै सिमसिम पानी पर्ने भइरहेको छ ।
खोलामा बाढी बग्न थालेपछि जिल्लाको चुरेभेगस्थित दुर्गम क्षेत्रका नारायण खोला, शिर कालिन्जोर, भित्री खोला, पिपलदमार लगायत खोलाको बाटो भएर जानुपर्ने क्षेत्रमा बसलगायत अन्य सवारी चल्न छाडेका छन् । जसले गर्दा चुरेवासीलाई बजार भर्न आउन र औषधि उपचारका लागि समस्या परिरहेको हाम्रा संवाददाताले जनाएका छन् ।