हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा आफ्नै श्रीमतीको अत्यन्त विभत्स ढंगले हत्या भएको घटनामा संलग्न उनका श्रीमानलाई कडा कारवाही गर्न अखिल नेपाल महिला संघले माग गरेको छ ।
संघकी जिल्ला अध्यक्ष सन्जीता घिमिरेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै घुर्कौलीमा भएको सो विभत्स हत्या घटनामा दोषीलाई हदैसम्मको कारवाहीका लागि माग गरेकी हुन् । अस्ती शुक्रबार बिहान घुर्कौलीका ३५ वर्षीय रामभरोस महतोले घरायसी विवादमा ३ सन्तान जन्माइसकेकी श्रीमती ३० वर्षीया नैनाकुमारी महतोलाई घाँटीमा खुकुरी प्रहार गरी विभत्स ढंगले हत्या गरेका थिए ।
श्रीमतीको ज्यान लिएपछि रामभरोस आफैले इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका थिए । अनेमसंघले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न र यस्ता जघन्य अपराधका घटनालाई तोडमोड गरी दोषिलाई उन्मुक्ति नदिन माग गरेको छ ।
उक्त प्रेस विज्ञप्ती अनेमसंघकी जिल्ला अध्यक्ष घिमिरेसहित जिल्ला सचिव विभा नेपाल, हरिवन नगर अध्यक्ष देवी खरेललगायत हरिवनस्थित उज्यालो अभियान दैनिकको कार्यालयमा आएर संचारकर्मीलाई हस्तान्तरण गरेका छन् ।