मलंगवा – सर्लाहीको कौडेनामा निर्माण गरिएको १५ बेडको अस्पतालको आज (मंगलबार) औपचारिक उद्घाटन हुँदैछ ।
कौडेना गाउँपालिकाले वडा नं. २ फूलपरासीस्थित हुलाकी सडक छेउमा निर्माण गरेको अस्पतालको आज एक कार्यक्रमका बीच उद्घाटन हुन लागेको हो । अस्पतालको संघीय सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र खानेपानी मन्त्री महिन्द्र राय यादवले संयुक्त रुपमा उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष रुपेश कुमारले जानकारी दिए ।
डेढ करोड बढी खर्चेर गाउँपालिकाले अस्पताल भवन तयार पारेको छ । अस्पताल संचालनका लागि विशेषज्ञ चिकित्सक नियुक्तिको प्रक्रिया समेत अघि बढिसकेको छ ।
कौडेनामा यो अस्पताल संचालन भएपछि जिल्लाको दक्षिण–पश्चिम भेगका वासिन्दालाई बिरामी पर्दा तथा सवारी दुर्घटनाका घाइतेलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।