logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

इँटा भट्टामा मजदुरी गर्न बाध्य शिलालाई सिलाइकटाइ मेसिन प्रदान


  • उज्यालो अभियान

चिताईन – कलिलै उमेरमा इँटा भट्टामा गएर मजदुरी गर्न बाध्य सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनकी शिला माझीलाई आज (शनिबार) सिलाईकटाई मेसिन प्रदान गरिएको छ ।

मुसहर समुदायको उत्थानमा क्रियाशील साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) ले माझीलाई आज बिहान हरिपुर ७ का वडाध्यक्ष मनोज चौधरीको उपस्थितिमा सिलाईकटाई मेसिन हस्तान्तरण गरेको हो । नेपालगन्ज, काठमाडौं, नुवाकोटलगायतमा ठाउँमा रहेका इँटा भट्टामा गएर मजदुरी गर्न बाध्य शिला केही समयदेखि गाउँमै रहेको र उनले मेसिन भइदिए गाउँघरमै बसेर कपडा सिलाउने काम गर्ने इच्छा व्यक्त गरेकाले संस्थाले मेसिन खरिद गरेर हस्तान्तरण गरेको साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए ।

उनका अनुसार शिलाका बुवाआमा सिन्धुलीमा मजदुरी काम गर्ने र एउटा भाई अरविन्द माझी काठमाडौंमा लेबर काम गर्छन् । त्यस्तै, अर्का भाई अनिल माझी झापाको विर्तामोडमा इँटा भट्टामा काम गर्न जाँदा ४ वर्षदेखि बेपत्ता छन् ।

चिताइन मुसहर बस्तीमा अन्य किशोरी भन्दा शिला सक्रिय र केही काम गरेर आयआर्जन गर्ने खालको देखेपछि संस्थाले सिलाईकटाई मेसिन किनेर दिएको कार्कीले बताए । साप–नेपालले सोही कार्यक्रममै चिताइन र हरिपुर २ हात्तिसारमा रहेको सामुदायिक भवनमा राख्नका लागि दुईवटा पंखा र हात्तिसारमै बालबालिकालाई ट्यूसन पढाउनका लागि एउटा ह्वाईट बोर्ड प्रदान गरेको छ ।

यस्तै, आज नै हरिपुर ५ असन्मा गाउँमा १० घर मुसहरलाई बंगुर प्रदान गरिएको छ । संस्थाले ७० हजार रुपैयाँमा १० घरलाई बंगुर खरिद गरेर हस्तान्तरण गरेको हो ।