लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–५, स्थित रेल्वे ट्रयाक नजिक करेन्ट लागेर मंगलबार अपरान्ह एउटा ब्याहुने भैँसी मरेको छ ।
लालबन्दी नगरपालिका ९ बस्तीपुरका श्याम दाहालले चराउन लगेको भैँसीलाई लालबन्दी ४ र ५ को सीमा स्थित जरुवा खोलादेखि दक्षिण रेल्वे ट्रयाक नजिक करेन्ट लागेको हो । करेन्ट लागेर दाहालको करिव डेढ लाख रुपैयाँ पर्ने भैँसी मरेपछि उनको परिवार चिन्तित बनेको छ ।
भैँसीलाई बचाउन खोज्दा भैँसीधनी दाहाल पनि सामान्य घाइते हुनुभएको छ । घटनास्थलमा पुग्नुभएका लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेलले बिजुलीको पोल अड्याउन गाडिएको सपोर्ट तारले माथि नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भई भैँसी मरेको जस्तो देखिएको र यस विषयमा नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रलाई जानकारी गराएको बताए ।
प्राधिकरणको लापरवाहीका कारण घटना भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।