लालबन्दी – कुनै किसिमको राजनीतिक द्वन्द्व नरहेका सर्लाहीका धेरैजसो स्थानीयले तहले आज (आइतबार) आ–आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गर्दै छन् ।
पालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट अधिवेशन गर्न लागेका हुन् । असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याई १५ दिनभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यहाँका अधिकांश पालिकाले आज आ–आफ्नो परिषद् आयोजना गर्न लागेका हुन् ।
सर्लाहीमा यसअघि चक्रघट्टा र कौडेना गाउँपालिकाले गाउँ सभा प्रारम्भ गरेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । लालबन्दी नगरपालिकाले पनि हिजो नीति तथा कार्यक्रम ल्याइसकेको छ भने आज दिउँसो ३ बजेपछि बजेट सार्वजनिक गरिने मेयर बासुदेव अधिकारीले बताए ।
झण्डै ३ महिनादेखि तालाबन्दी रहेको हरिपूर्वा नगरपालिका र एक महिनादेखि चर्को विवाद रहेको चन्द्रनगर गाउँपालिकाले आज बजेट ल्याउने संभावना छैन् । पछिल्लो समय किचलो बढ्दै गइरहेको बसबरिया गाउँपालिकामा पनि गाउँ सभा हुन नदिन उपाध्यक्षसहित धेरैजसो कार्यपालिका सदस्य एक ठाउँमा उभिएका छन् ।
अहिले चालू आर्थिक वर्ष २०७९÷०८० को अन्तिम समेत रहेकाले आर्थिक भागबण्डामा कुरा मिल्न नसक्दा विवाद आएको जानकारहरु बताउँछन् ।
हाम्रा संवाददाताहरुका अनुसार विवाद नरहेको ईश्वरपुर, हरिवन, मलंगवा, बरहथवा, हरिपुर, बागमतीलगायत ठूला पालिकासहित यहाँका एक दर्जन बढी पालिकाले आज बजेट सार्वजनिक गर्ने गरी तयारी गरेका छन् ।