हरिपूर्वा – सम्भावित तनावलाई आंकलन गरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज दिनभर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
यस नगरपालिकामा झण्डै तीन महिनादेखि तालाबन्दी छ । तालाबन्दी तोड्ने भन्दै आज नगरप्रमुख विनोदकुमार साह पक्षले तयारी गरेको र आन्दोलित पक्षले तालाबन्दी खोल्न नदिने भनी तयारी गरेपछि सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै दिनभर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
प्रहरीको सावधानीले गर्दा कुनै उग्र किमिसको प्रदर्शन हुन पाएन । आन्दोलित सर्वदलिय संघर्ष समितिलाई जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिमा राखेर छलफल गरिए पनि कुनै निष्कर्ष निस्कन नसकेको बुझिएको छ । संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा लगाइएको तालाबन्दी खोलेर सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा हुन दिने तर अन्य बजेटका काम हुन नदिने अडान लिएपछि कुरा मिल्न नसकेको हो ।
भर्खरै मात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले नगरको पूरै तालाबन्दी खोलेर प्रत्येक गतिवधि र बजेट संचालन हुन दिन अनुरोध गनेपनि संघर्ष समितिले अस्वीकार गरेको छ । नगरप्रमुखको कदमविरुद्ध यहाँ संघर्ष समितिले तालाबन्दी गरिरहेको हो । यस विषयमा आगामी आइतबार दुवै पक्षलाई नै राखेर छलफल गर्ने सहमतीमा आजको छलफल टुंग्याइएको छ ।
आर्थिक वर्ष सक्किन अब २०÷२२ दिन मात्रै बाँकी रहँदा हरिपूर्वा नगरपालिकामा एक रुपैयाँ बजेट पनि खर्च हुन सकेको छैन् । राजनीतिक विवादले नगरमा विकासका काम ठप्प हुँदा स्थानीय निराश बनिरहेका छन् ।
हरिपूर्वामा यसअघिका जनप्रतिनिधिको कार्यकाल पनि विवादै विवादमा बितेको थियो ।