logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जानकीनगर साझेदारी वनको अध्यक्षमा राय र उपाध्यक्षमा घिसिङ विजयी


  • उज्यालो अभियान

मुर्तिया – सर्लाहीको जानकीनगर साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा पुनः रामविश्वास राय निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी रामबाबु रायलाई पाँच मतको झिनो अन्तरले पराजित गर्दै राय दोस्रो पटक वनको अध्यक्षमा विजयी भएका हुन् । बसबरिया गाउँपालिका १ का रामश्विास २१७ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बसबरिया गाउँपालिकाकै वडा नं. ६ का रामबाबु रायले २१२ मत मात्रै प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा ५ मत प्राप्त गरी हरिवन ६ का वडाध्यक्ष समेत रहेका सन्तलाल घिसिङ विजयी हुँदा उनकी प्रतिस्पर्धी बागमती ६ की कृष्णमाया घिसिङले ४ मत मात्रै प्राप्त गरिन् । यो वन क्षेत्र अन्तर्गत जिल्लाका ९ पालिकाका ७५ वटा वडा पर्छन् । ति वडामा वडा भेला गरी ७–७ जनाको हिसाबले छानिएर आएका ५२५ जनामध्ये हिजो भएको मतदानमा ४५५ जनाले मतदान गरेका छन् ।

वनको अध्यक्षका लागि वडाबाट छानिएका आएका सबै ७–७ जनाले नै र उपाध्यक्षका लागि ९ वटा पालिकाको कार्यपालिकाबाट छानिएर आएका नौं जनाले मात्रै मत खसाल्न पाउने विधानमा उल्लेख छ । यसैगरी, वनको खुला सदस्यमा बागमती ७ का जवाहार साह ४०२, बलरा ५ का सत्यनारायण महतो ३५०, बलरा १० का इन्दल ठाकुर ३०७, बरहथवा ३ का कौशल महतो २८०, गोडैता ७ का सुरेश पासवान २६७, बसबरिया ५ का दिनेशकुमार यादव २६० र बसबरिया ३ का नागेन्द्र राय यादव २५० मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, दलित सदस्यमा बरहथवा ११ की शोभा विक २१९ मत प्राप्त गरी विजयी भएकी छन् ।

५२५ जना मतदाता रहेकोमा हिजो भएको मतदानमा ४५५ जनाले भाग लिएका निर्वाचन समितिले जनाएको छ । गएराति अबेर मतगणना सम्पन्न गरी आज बिहानपख परिणाम सार्वजनिक गरिएको हो ।

वनको यो निर्वाचनलाई राजनीतिक दलले प्रतिष्ठाको विषय नै बनाए । हिजो मतदान चलिरहँदा अधिकांश नेता मूर्तियास्थित सवडिभिजन वन कार्यालय परिसरमा पुगेका थिए ।