logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चुरेभेगका विकट बस्तीमा बत्ती सूचारु हुन समय लाग्ने, अन्यत्र बत्ती आयो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – भौगोलिक रुपमा विकट रहेका सर्लाहीको उत्तरी चुरेभेगका बस्ती २ दिनदेखि अन्धकारमा परेका छन् ।

गएको मंगलबार रातिको हावाहुरीले विभिन्न स्थानमा बिजुलीको पोल ढलेको र तार भुइँमा लत्रिएका कारण बिजुली अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्नु परेको हो । चुरे डाँडादेखि तल पर्ने परवानिपुर, घारिबथान लगायत धेरै गाउँहरुमा भने आज अपरान्हपछि बत्ती सूचारु भएको छ ।

परवानिपुरका स्थानीय संचारकर्मी राजेश पाठकले मंगलबार रातिदेखि अवरुद्ध विजुली बिहीबार अपरान्हपछि सूचारु भएको जानकारी दिए । झण्डै ४८ घण्टापछि विद्युत् सूचारु हुँदा स्थानीयले राहत महसुस गरेका पाठकले बताए । तर, चुरेभेगका शिर कालिन्जोरलगायतका क्षेत्रमा भने बत्ती अझै सूचारु भइसकेको छैन् ।

बत्ती नहुँदा स्थानीयले मोवाइल चार्ज समेत गर्न नपाउँदा संचार सम्पर्कविहीन बनेका छन् । लालबन्दी बजार क्षेत्रमा समेत बिहीबार बिहान उज्यालो नहुँदै कटेको लाइन दिउँसो २ बजेतिरबाट मात्रै सूचारु भएको छ ।

बुधबार साँझको हावाहुरीले बागवानी जंगलमा रुख ढलेर ११ वटा पोलको तार भुइँमा खसाउँदा मर्मत गरेर विद्युत् सूचारु गर्न दिनभरजसो नै लागेको हो । हावाहुरीले बागवानी जंगल र लालबन्दी बजारदेखि पूर्वतर्फको जंगल र रानिगन्ज क्षेत्रमा धेरै क्षति गरेको छ ।

चुरेभेगको विकट क्षेत्रमै पर्ने हरिवन नगरपालिका १ बिलन्दीमा मंगलवार रातिको हावाहुरीले तार लत्रिएर भुइँमा खस्दा विद्युत् अवरुद्ध भएको स्थानीय संचारकर्मी राजु लो तामाङले बताए । दुर्गम ठाउँमा बस्ने स्थानीयलाई बिजुली बत्ती अवरुद्ध भएपछि मोवाइल चार्ज गर्न, रेडियो सुन्न समस्या भएको छ ।

जिल्लाकै सबैभन्दा दुर्गम नारायण खोलामा भने बत्ती आउने जाने भइरहेको एमाले नारायणखोलाका वडा कमिटी अध्यक्ष भिमबहादुर पाख्रिनले बताए । चुरेभेगका दुर्गम गाउँमा बिजुली बिग्रिएको धेरै दिनपछि मात्रै प्राविधिक पुग्ने गरेका स्थानीयको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले बजार क्षेत्र र नजिकका गाउँमा मर्मत सम्भारको काम सकिएपछि चुरे तथा पहाडी क्षेत्रमा समस्या भएका ठाउँमा गई मर्मतको काम गरिने उज्यालो अभियानसँग बताए । हावाहुरी र पानी पर्ने याममा सर्लाहीको विद्युत् असाध्य अनियमित हुने गरेको छ ।