प्रतिकात्मक तस्बीर ।
लालबन्दी – पानी र हावाहुरीको मौसम सुरु भएपछि सर्लाहीमा विद्युत् भने अनियमित भएको छ ।
जिल्लाको धेरै गाउँमा गएरातिदेखि बत्ती छैन् । बिजुली अवरुद्ध हुँदा मोवाइल धरी चार्ज गर्न नपाउँदा स्थानीय संचार सम्पर्कविहीन भएका छन् । बजार क्षेत्रमा भने बत्ती आउने जाने भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएको र तार लत्रिएकाले मर्मत सम्भारको काम चलिरहेको जनाएको छ । पानी पर्ने र हावाहुरी चल्ने क्रम नरोकिँदा अवरुद्ध विद्युत् सूचारु गर्न समस्या परिरहेको छ ।
हावाहुरीले विशेष गरी लालबन्दी बजारदेखि पूर्व रानिगन्ज क्षेत्रको जंगलमा धेरै नै रुख ढलेको छ । लालबन्दी फूटबल चौरदेखि पूर्वको जंगलमा त आधाजसो रुख जरैदेखि र लाछिएर ढलेका छन् । जसले गर्दा लालबन्दीदेखि पूर्वतर्फ गएको बिजुली रातिदेखि नै अवरुद्ध रहेको छ ।
राति हावाहुरीले रुख ढलेपछि केहीबेर राजमार्गसम्म नै आएपछि प्रहरीले रुख हटाएर सडक सूचारु गराएको लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अच्यूत गिरीले बताउनुभयो ।