logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वामा ३ वर्षका बालकको मृत्यु, पेट्रोल खाएको आशंका


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – सर्लाहीको हरिपूर्वा नगरपालिका–९, बसन्तपुरका ३ वर्षीय एक बालकको लालबन्दीमा उपचार गर्न ल्याएकोमा मृत्यु भएको छ ।

बसन्तपुरका स्थानीय साहीद साह फकिरका छोरा ३ वर्षका हुजय साह फकिरको मृत्यु भएको हो । ती बालकले घरमा राखिएको पेट्रोल खाएको आशंका गरिए पनि पुष्टी हुन सकेको छैन् । आज (मंगलबार) दिउँसो बालक अचानक बिरामी परेर छाद्न थालेपछि परिवारका सदस्यले हतार हतार उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याएका थिए ।

अस्पताल ल्याएर उपचार सुरु गरेको केहीबेरमै बालकको मृत्यु भएको प्रहरीले जनायो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अच्यूत गिरीले बालकले पेट्रोल खाएको आशंका गरे पनि मृत्युको वास्तविक कारण खुल्न नसकेको उज्यालो अभियानसँग बताए ।

प्रनि गिरीले मृत्युको कारण पत्ता लगाउन परिवारका सदस्यलाई सम्झाइबुझाइ गरी मृतक बालकको शव पोष्टमार्टमका लागि भर्खरै प्रादेशिक अस्पताल मलंगवा पठाइएको बताए ।