logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन नगरपालिकाको दमकल संचालन गर्न लालबन्दी नगरपालिका पनि साझेदार


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालनका लागि मंगलबारबाट लालबन्दी नगरपालिका पनि साझेदार बनेको छ ।

नगरपालिका एक्लैले सञ्चालन खर्च व्यहोर्नुपर्ने तर जुन पालिकामा आगलागी भए पनि दमकल पठाउनुपर्ने बाध्यताले खर्च धान्न मुस्किल पर्न थालेको भन्दै हरिवन नगरपालिकाले विभिन्न पालिकासँग सम्झौता गरी साझेदार बनाएको छ । सोही क्रममा मंगलबार पाँचौं पालिकाका रुपमा लालबन्दी नगरपालिकासँग सम्झौता गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।

हरिवनको दमकल सञ्चालनबापत लालबन्दी नगरपालिकाले वार्षिक तीन लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा हरिवन नगरपालिकाको तर्फबाट नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान तथा लालबन्दी नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव अधिकारी र प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले हस्ताक्षर गरेका छन् ।

यसअघि यस्तै प्रकारको सम्झौता ईश्वरपुर नगरपालिका, बागमती नगरपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकासँग भइसकेको छ । ती पालिकाले पनि दमकल सञ्चालन बापत वार्षिक तीन लाख रुपैयाँकै दरले भुक्तानि गर्ने सम्झौता भएको नगरप्रमुख बुढाथोकीले बताए ।

सर्लाहीमा उत्तरी भेगमा हरिवन नगरपालिकासँग र दक्षिणी भेगमा सदरमुकाम मलङ्गवा नगरपालिकासँग मात्रै दमकल छन् । हरिवन नगरपालिकाले दमकल सञ्चालनको खर्च व्यवस्थापन गर्न पाँच वटा पालिकासँग साझेदारी गरे पनि सदरमुकाम मलङ्गवा नगरपालिकासँग भने कुनै पनि पालिकाको साझेदारी हुन सकेको छैन् ।

हरिवनका प्रमुख प्रशासकीय अधिकृत प्रधानले अब पाँचवटा पालिकाबाहेक अन्य पालिकासँग साझेदारी नगरिने उज्यालो अभियानसँग बताए । अन्य पालिका भौगोलिक हिसाबले टाढा पर्ने र आगलागी भएपश्चात दमकल पुगुञ्जेलसम्म आगलागीबाट धेरै नै क्षति भइसक्ने भएकाले पाँच पालिकासँग मात्रै साझेदारी सम्झौता गरिएको प्रधानको भनाई छ ।