प्रतिकात्मक तस्बिर ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मंगलबार भारतीय नम्वर प्लेटको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बबरगञ्जबाट बयलवासतर्फ आउँदै गरेको बीआर ३० इ २४५९ नम्वरको स्कारपियाले ठक्कर दिँदा ज २ प ६४५२ नम्वरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको हो । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
दुर्घटनामा संलग्न उक्त भारतीय स्कारपियो चन्द्रनगर गाउँपालिकाका पूर्व अध्यक्ष तथा लोसपाका नेता महेन्द्र महतोले चढ्ने गरेको बुझिएको छ । प्रत्यक्षदर्शीका अनुसार स्कारपियाले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व गाउँपालिका अध्यक्ष महतो पनि सोही गाडीमा सवार थिए ।
दुर्घटनापछि फरार भएको गाडीलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले नियन्त्रणमा लिइसकेको छ । गाडीका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी दीपेन्द्र पंजियार थारुले उज्यालो अभियानसँग बताए । मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बयलवास–बबरगञ्ज सडक अन्तर्गत खोरिया टोलमा अहिले चक्काजाम गरिरहेका छन् ।
बयलवासबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण के.सी. को नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक खुलाउन स्थानीयलाई सम्झाइबुझाइ गरिरहेको छ ।
मृतक मोटरसाइकल चालक महतोको शव भने लालगढ अस्पतालमै रहेको प्रहरीले जनायो ।