लालबन्दी – सर्लाहीको लालबन्दीसहित आसपासका क्षेत्रमा आज बिहान एक झर राम्रैसँग वर्षा भएको छ ।
बिहान ५ बजेतिर मौसम अचानक बदली भएर लालबन्दी र यस आसपासका क्षेत्रमा पानी परेको हो । चुरेभेगमा पनि केहीबर सामान्य रुपमा पानी छिट्याएको स्थानीयले बताएका छन् । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने बिहान हावाहुरी मात्रै चलेको र पानी पर्न नसकेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
अहिले जिल्लाभरकै धाम्मधुम्म भइरहेको छ । यहाँ हिजो अस्तीदेखि मौसम बद्ली भई बेलाबेलामा धाम्मधुम्म भइरहेकाले स्थानीयवासीले अब भने पर्याप्त वर्षा हुने आशमा बसिरहेका छन् । पानी नपर्दा मकै, तरकारीलगायतका बालीनाली सुकेर गइरहेका छन् ।
किसानले राखेको धानको ब्याड नउम्रिएर त्यसै नाश भएको छ । कतिपय किसानले धानको ब्याड राख्न नपाएर ढिलो भइसकेको बताएका छन् । जेठमा आएर गएको खडेरी र चर्को घामले सबैभन्दा मार किसानलाई परेको छ ।
अस्ती आइतबारदेखि मौसममा सामान्य बदली आई बेलाबेलामा हावा चल्ने र गर्मी कम हुँदा आम मानिसको दैनिकी केही सहज बन्न थालेको छ ।
गर्मीले बिदा दिइएको यहाँका विद्यालय धमाधम खुल्न थालेका छन् । अहिले पनि विद्यालय बन्द गरिरहेका पालिकाले अब विस्तारै विद्यालय खोल्ने तयारी गरेका छन् ।