logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुर्घटनामा छोरीको मृत्यु, आमा घाइते, सलेमपुरमा स्थानीयद्वारा ५ घण्टादेखि चक्काजाम


  • उज्यालो अभियान

सलेमपुर – नवलपुर मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरमा पहिचान हुन नसकेको गाडीले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा चन्द्रनगर गाउँपालिका ५ मोहनपुर घरभई सलेमपुरस्थित माइती घरमा आएकी २१ वर्षीया सबनम खातुनको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनकी आमा ६२ वर्षीया अबेदा खातुनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार चलिरहेको छ ।

गएसाँझ (आइतबार साँझ) हाटबजारबाट तरकारी किनेर आमा छोरी घर फर्किदै गर्दा चार पांग्रे सवारीले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरु दुवैलाई सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएकोमा छोरी सबनमको गएराति नै मृत्यु भएको बुझिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न गाडीको अझै पहिचान गर्न सकेको छैन् । दुर्घटनामा संलग्न सवारी र त्यसका चालकबारे प्रहरीले पत्ता लगाउन नसकेको भन्दै आज (सोमबार) अपरान्ह ४ बजेदेखि अहिले राति ९ बजेसम्म नवलपुर–मलंगवा सडक खण्डमा स्थानीयले चक्काजाम गरिरहेका छन् ।

स्थानीय युवा दीपेन्द्र यादवका अनुसार मृतकको शव सडकमै राखेर फरार सवारी र चालकलाई नियन्त्रणमा लिई कारवाही चलाउनुपर्ने माग गर्दै गाउँले र आफन्त भएर सलेमपुर चोकमा प्रदर्शन गरिरहेका हुन् ।

प्रहरीले आन्दोलित पक्षलाई सम्झाईबुझाई गरी सडक खुलाउने प्रयास गरिरहेको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।