प्रतिकात्मक तस्बिर ।
बागमती – सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
बागमती नगरपालिका–१२, बथाने बस्ने कुमार वि.क. का छोरा ४ वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो । आइतबार राति सानिआमा कल्पना वि.क. सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासी रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका–१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उनले बताए ।
बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ । केन्द्रमा दैनिक चार÷पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका इन्चार्ज यादवले बताए ।
गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।