logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गर्भपतन गराएकी १६ वर्षीया अविवाहित किशोरीको उपचारका क्रममा मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज (आइतबार) मृत्यु भएको छ ।

बसबरिया गाउँपालिका–२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी १६ वर्षीया किरण कुमारीको उपचारका क्रममा आज दिउँसो प्रोदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खाएकी थिईन् ।

करिव छ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भइ उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उहाँलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगियो । अस्पतालमा ल्याएर पनि रक्तश्राव नरोकिएको र बिरामीको अवस्था थप जटिल बन्दै गएकोे भन्दै मलङ्गवा अस्पतालले उनलाई तत्कालै जनकपुर रेफर गर्यो ।

जनकपुरमा उपचारका क्रममा जेठ २३ गते शल्यक्रिया गरी किरण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचाररत् किरण कुमारीको आज दिउँसो मृत्यु भएको हो ।

किरण कुमारीको मृत्यु भएको भनी प्रादेशिक अस्पताल जनकपुरले जानकारी गराएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले उज्यालो अभियानसँग बताए । १६ वर्षीया अविवाहित किशोरीको को सँग अवैध सम्वन्धपछि गर्भ बस्यो ? भन्ने खुल्न सकेको छैन् ।

स्रोतका अनुसार किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्वन्धको गर्भ रहेको थाहा पाएपछि गर्तपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको हो ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख (डीएसपी) मकेन्द्रकुमार मिश्रले घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाइने आज साँझ उज्यालोका समाचार संयोजक जनार्जन खत्रीसँगको कुराकानीमा बताए ।

डीएसपी मिश्रले मृतक महिलाको पोष्टमार्टम गरिदिन र आवश्यक कागजात उपलब्ध गराइदिन भन्दै प्रादेशिक अस्पताल जनकपुरलाई पत्राचार गरिसकिएको बताए ।