हरिवन – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीका अग्नी पीडित अरुण महतोको परिवारलाई आइतबार केही खाद्यान्न र अन्य सरसामग्री सहयोग गरिएको छ ।
हिजो (शनिबार) मात्रै विद्युत् सर्ट भएर आगलागी हुँदा महतोको घर जलेर नष्ट भएको थियो । आगलागीबाट शरीरमा लगाएको एकसरो लुगाबाहेक अन्य सबै सरसामग्री जलेर खरानी हुँदा बिचल्लीमा परेको महतो परिवारलाई हरिवनस्थित बागमती सेवा समाज नेपालले सहयोग प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष भरतकुमार कार्की, शैलेश जननी फाउण्डेसनका सदस्य युवराज भण्डारीलगायतले आइतबार बिहान पीडित अरुण महतोको परिवारलाई राहतस्वरुप चामल, अन्य विभिन्न खाद्यान्न, झुल, सोलारलगायतका सामग्री प्रदान परेका घुर्कौलीका वडा सदस्य अजय महतोले जानकारी दिए ।