नाढीमन – सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय अगाडि आज (सोमबार) दोस्रो दिन पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का विद्यार्थीले प्रदर्शन गरेका छन् ।
दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा सीटीईभिटी पढिरहेका विद्यार्थीले शिक्षक अभावमा पढन नपाएको भन्दै गाउँपालिका कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । आगामी भदौदेखि परीक्षा नै संचालन हुने भएपनि अहिलेसम्म शिक्षक अभावले पढन नपाएको विद्यार्थी शिव साहीले गुनासो गरे । यहाँ स्थानीयसहित देशभरका विद्यार्थी आएर पढ्ने गरेका छन् ।
उनीहरुले शिक्षकको माग गर्दै हिजो पनि गाउँपालिका कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए । त्यसक्रममा ढुंगामुढा हुँदा गाउँपालिकाको कार्यालय र एक्साभेटरमा क्षति समेत पुगेको थियो । गाउँपालिका कार्यालयले शिक्षक नै नपाएकाले समस्या भएको जनाएको छ ।
गाउँपालिकाभित्रका विद्यालयमा गाउँपालिकाबाट स्वयंसेवक शिक्षक समेत राख्ने प्रयास भइरहेकोमा बहुमत कार्यपालिका सदस्यबीच भागबण्डामा कुरा मिल्न नसक्दा झनै समस्या भइरहेको छ ।