प्रतिकात्मक तस्बिर ।
बसबरिया – मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको सर्लाहीको मानपुर गाउँको अवस्था आइतबार मध्यान्हदेखि भने सामान्य बनेको छ ।
शनिबार साँझ बसबरिया गाउँपालिका–१, मानपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा स्थानीय १८ वर्षीय रवीन्द्रकुमार यादवको घटनास्थलमै मृत्यु भएको थियो । गाउँको भित्री सडक खण्डमा यादव सवार प्रदेश–२–०२००१ प ११३४ नम्वरको मोटरसाइकललाई बीआर ०६ एके २१७० नम्वरको भारतीय मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात प्रहरीले भारतीय मोटरसाइकलका चालक स्थानीय मनोजकुमार यादवलाई नियन्त्रणमा लिई प्रहरी चौकीतर्फ लैजाँदै गर्दा उनका आफन्तले बीच बाटोमै हो–हल्ला गरेर भगाएका प्रहरीले दावी गरेको छ । सो घटनापछि स्थानीय वासिन्दाले आज बिहानभर प्रहरी चौकी मानपुर घेराउ गरेका छन् ।
फरार रहेका मोटरसाइकल चालकलाई पक्राउ गरी कारवाही चलाउने र मृतकको परिवारलाई कानून बमोजिम प्राप्त हुने रकम उपलब्ध गराउन पहल गर्ने सहमती गरी मध्यान्हपछि स्थानीय वासिन्दाले प्रहरी चौकी घेराउ र नाराबाजीको कार्यक्रम रोकेका हुन् । मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
फरार रहेका मोटरसाइकल चालकको पहिचान भइसकेकाले खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले उज्यालो अभियानसँग बताए । बरहथवाका प्रहरी प्रमुख मिश्र, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायलगायत बसेर कानून बमोजिम कारवाहीमा जाने भनी सहमती गरी तनावग्रस्त स्थितिलाई साम्य पारिएको हो ।