बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाले पनि भोली (आइतबार) देखि आगामी २६ गतेसम्म विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले शनिबार सूचना जारी गर्दै केही दिनदेखि अत्यधिक गर्मी बढ्दा बालबालिकाको स्वास्थ्यमै असर गर्ने र पठनपाठन संचालन गर्न मुस्किल पर्ने अवस्था आएको भन्दै भोली २१ गतेदेखि आगामी शुक्रबार २६ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको उल्लेख गरेका हुन् ।
यसअघि शुक्रबार हरिवन नगरपालिकाले २१ गतेदेखि २६ गतेसम्म र लालबन्दी नगरपालिकाले २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा दिइसकेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मलंगवाले सूचना निकालेर जिल्ला शिक्षा समितिले नै भोली २१ गतेदेखि जेठ २४ गतेसम्म जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको थियो ।
तर, शनिबार साँझसम्म लालबन्दी, हरिवन र ईश्वरपुरले मात्रै सूचना निकालेर विद्यालय बन्दको औपचारिक घोषणा गरेका छन् । सर्लाहीसहित तराई क्षेत्रमा केहीदिनदेखि गर्मी अत्यधिक बढ्दा जनजीवन प्रभावित भइरहेको छ ।
पानी पर्न नसक्दा मानिस गर्मीले छटपटाइरहेका छन् । दिनभर टन्टलापुर घाम लागेर तातो हावा चल्छ भने राति पनि हपक्क भएर असाध्य गर्मी हुने गरेको छ ।