logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण


  • उज्यालो अभियान

(तस्बीर : श्रवण थापा उज्यालो)

बागमती – सर्लाहीको बागमतीमा मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण सम्पन्न भएको छ ।

भरत तालको नामले चर्चित बागमती माछा पोखरीमा प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ संचालनको तयारी भएको हो । ताल किनारमा निर्माण सम्पन्न भएको ‘स्काई साइक्लिङ’को परीक्षण सम्पन्न गरेर संचालनको तयारी गरेको संचालक कम्पनीका गौतम खड्काले जानकारी दिए । तारको लठ्ठामा झुण्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षण बन्दै गएको छ ।

‘स्काई साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ । जमिन सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काई साइक्लिङ’ २१३ फिट लामो रहेको संचालक कम्पनी बागमती ईन्टरटेनमेन्ट प्रालिका प्रमुख खड्काले बताए । भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।

तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनिक्रुज यसअघि नै संचालनमा छ । पर्यटकको मनोरञ्जनलाई ध्यान दिँदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

८५ लाख लागतमा निर्माण सम्पन्न ‘स्काई साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको छ । यसमा एकपटकमा तीनजनासम्मले साइकल चलाउन सक्ने संचालक कम्पनीले जनाएको छ ।

नगरको पहिचानका रुपमा रहेको निर्माणाधिन भरत ताल पर्यटन, पर्यावरण र रोजगारीसँगै नगरको आर्थिक उपार्जनको माध्यमसमेत बन्दै गएको छ ।