मलंगवा – सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकल शंका लागेपछि गोरखकाली प्रहरी चौकीअगाडि जाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध रकमसहित पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका–१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।
उनीहरुको साथबाट बरामद गरिएको रकमको स्रोत देखाउन सकेका छैनन् । सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी दीपेन्द्रकुमार पंजियारले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरु हुन्डीको कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।