गर्मी छल्न छहारीमा बसेका सर्वसाधारण । तस्बिर : उज्यालो अभियान
लालबन्दी – सर्लाहीमा आज (बुधबार) पनि चर्को घाम लागेर अत्यधिक गर्मी भइरहेको छ ।
यहाँ विगत ३ दिनदेखि यसरी असाध्य बढी गर्मी महसुस भइरहेको हो । अघिल्ला दिनहरुमा पनि गर्मी हुने गरेकोमा अस्ती सोमबार देखिको गर्मी भने खप्नै गाह्रो परिरहेको सर्वसाधारण बताउँछन् । गर्मीले मानिस छटपटाइरहेका छन् ।
बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था छैन् । गर्मीले मानिस असिनपसिन भएर बसेका छन् । गएको दुई रात धेरैले गर्मीका कारण सुत्नै नसकेर बिताएका छन् ।
यो वर्ष जमिन भिज्ने गरी बेस्सरी वर्षा नै हुन नसकेकाले असाध्य गर्मी महसुस भइरहेको सर्वसाधारण बताउँछन् । अहिले शित्तलताको खोजीमा भौतारिनुपर्ने अवस्था छ । यो गर्मीमा घरबाहिर निस्कनुपर्ने किसान तथा मजदुर, विद्यार्थीलगायत झन बढी प्रभावित बनिरहेका छन् । जिल्लामा पानी पर्दा एक÷दुई दिन शित्तल भएपनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढ्ने गर्छ ।
गर्मीले मानिस बिरामी नै पर्ने अवस्था छ । चिकित्सकले यो बेला प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । तर दैनिक मजदुरीमा निस्कनुपर्नेहरुलाई यि सबै कुरा सहनुपर्ने अवस्था छ ।
तराई मधेशमा पछिल्ला वर्षहरुमा वन विनाश, अवैध उत्खनन र मनपरी बढेमानका संरचना निर्माण गर्दा गर्मी बढेको तर्क बुढापाकाहरुले गर्ने गरेका छन् । झुरुप्प बस्ती भएका ठाउँहरुमा झन बढी गर्मी छ ।