लालबन्दीमा आउन लागेका इन्सपेक्टर अच्यूत गिरी ।
लालबन्दी – झण्डै एक महिनादेखि इन्चार्जविहीन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अच्यूत गिरीलाई पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टर गिरीलाई लालबन्दीमा काज सरुवा गरेको सर्लाही प्रहरीका प्रमुख (एसपी) नरेशराज सुवेदीले उज्यालो अभियानसँग बताए । गिरी एक/दुई दिनभित्रै लालबन्दी प्रहरीको कमाण्ड सम्हाल्न आउने बुझिएको छ ।
लालबन्दीका तत्कालिन प्रहरी प्रमुख शान्तराम कार्की इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भई अनिवार्य अवकाश समेत पाएर घर गएदेखि इलाका प्रहरी कार्यालय लालबन्दी इन्चार्जविहीन छ । अहिले वरिष्ठ सई जितेन्द्र चौधरीले निमित्त इन्चार्ज भएर चलाइरहेका छन् ।
इन्स्पेक्टरहरुको नियमित सरुवा हुँदा लालबन्दीमा पनि नयाँ इन्स्पेक्टर पठाउने तयारी भइरहेकामा नियमित सरुवा निकाल्न अझै केही दिन लाग्ने भएपछि जिल्लाबाट भएको माग अनुसार प्रहरी हेडक्वार्टरले हाइवेको संवेदनशील क्षेत्रमा मानिने लालबन्दीमा काज सरुवा गरेरै नयाँ इन्स्पेक्टर पठाएको हो ।