मलंगवा – सर्लाही, रौतहट र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको सितामढी जिल्लाका पदाधिकारी र सम्वद्ध अधिकारीहरुबीच संयुक्त सीमा समन्वय बैठक भारतको सीतामढीमा बसेको छ ।
नेपालस्थित तीनवटा जिल्लाका सुरक्षा अधिकारीहरु हिजो (शनिबार) सितामढी पुगेर त्यहाँका पदाधिकारी र अधिकारीसँग बैठक गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उज्यालो अभियानसँग बताए । बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने तस्करी नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोवार नियन्त्रण तथा सुरक्षा संवेदनशीलता, बाढी तथा डुबानको समस्या लगायतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार यो नियमित बैठक हो ।
बैठकमा नेपालको तर्फबाट तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, भन्सार कार्यालयका हाकिमलगायत सहभागी भएका जल्ला प्रशासन कार्यालय मलंगवाले जनायो । यसैगरी, भारतीय पक्षबाट सितामढी जिल्लाका मुख्य जिल्लाधिकारी, पुलिस अधिक्षक, भन्सार प्रमुख र एस.एस.बी. का अधिकारी सहभागी थिए ।