सुनिल ठाकुर/चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमबार दुई सय भन्दा बढी किसानले आ–आफ्नो खेतबारीको माटो निःशुल्क रुपमा परीक्षण गराएका छन् ।
गाउँपालिकाको आयोजना एवं माटो तथा मल परीक्षण प्रगोगशाला राजविराज सप्तरीको सहयोगमा किसानले खेतबारीबाट ल्याएका माटो बिना शुल्क परीक्षण गरिएको चक्रघट्टा गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक टीका बस्नेतले जानकारी दिए । उनका अनुसार एक दिने माटो परीक्षण शिविरमा २२५ जना किसानले आ–आफ्नो खेतबारीको माटो ल्याएर परीक्षण गराएका हुन् ।
प्रदेश स्तरीय कार्यालयबाट आएका तीन जना प्राविधिकसहितको टोलीले माटो परीक्षणको काम गरेको बस्नेतले बताए । माटो परीक्षणको क्रममा नाइट्रोजन, पोटास, फसफोरस, अम्लियपन र माटोको किसिमको परीक्षण गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरीका कार्यालय प्रमुख सुनिलकुमार सिंहले बताएका छन् ।
परीक्षणको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक रुपमा चक्रघट्टा गाउँपालिकाको माटो अन्य स्थानको भन्दा खेतियोग्य नै पाइएको सिंहले बताए । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले कृषि उत्पादन बढाउने र किसानलाई आवश्यक सरसल्लाह समेत दिने उद्देश्यले माटो परीक्षण शिविर गरिएको बताए ।
गाउँपालिकावासी सबैजसो किसान नै रहेकाले सोमबारको यो शिविरबाट किसानवर्ग लाभान्वित भएका गाउँपालिका अध्यक्ष यादवको भनाई छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव, माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरीका प्रमुख सुनिलकुमार सिंह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिवकुमार यादव, कृषि शाखाका प्रमुख रामइश्वर यादवलगायतको उपस्थिति रहेको थियो ।