logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नगर अस्पताल बयलवासमा ल्याब सेवा सुरु


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित नगर अस्पताल बयलवासमा जनस्वास्थ्य प्रयोगशाला अर्थात् ल्याब सेवा प्रारम्भ गरिएको छ ।

मधेश प्रदेश सरकार र नगरपालिकाबीचको सहकार्यमा वडा नं. ६ स्थित नगर अस्पतालमा ल्याब सेवा सुरु गरिएको हो । प्रयोगाशालाको आइतबार मेयर मनोजकुमार आचार्यले उद्घाटन गरेका हुन् ।

नगर अस्पतालमा यसअघिदेखि नै ल्याब सेवा संचालन भएपनि अहिले प्रदेश सरकारबाट थप औजार उपकरण र कर्मचारी समेत प्राप्त भएपछि अझ व्यवस्थित ढंगले सेवा सुरु गरिएको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले बताए । महतोका अनुसार ल्याब संचालनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट तत्कालका लागि एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोग पनि पठाइएको छ ।

ल्याबमा विभिन्न किसिमको परीक्षणमा लाग्ने शुल्क प्रदेशबाटै निर्धारण भएर आएको र बाहिरको तुलनामा अत्यन्त न्यून मूल्यमा परीक्षण हुने स्वास्थ्य शाखाका संयोजक महतोले बताए । प्रदेश सरकारले पठाएको उपकरणबाट नगर अस्पतालमा भएको भन्दा बाहेक क्याल्सियम, सोडियमलगायतको परीक्षण समेत गर्न सकिने नगर अस्पताल बयलवासले जनाएको छ ।

प्रयोगशालाको औपचारिक उद्घाटन कार्यक्रममा मेयर मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतोलगायतको उपस्थिति रहेको थियो । मेयर आचार्यले नगर अस्पतालको ल्याबबाट विशेष गरी अतिविपन्न तथा गरिब परिवारले सहज तथा सुलभ रुपमा सेवा पाउने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार प्रदेश सरकार र नगरपालिकाको गरी झण्डै ८० लाखको लागतमा ल्याब स्थापना गरिएको हो ।