logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पालिकाबीच समन्वय गरी दमकल खरिद गर्ने विपद् व्यवस्थापन समितिको निर्णय


  • उज्यालो अभियान

लालबन्दी – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकले छेउछाउका पालिकाबीच समन्वय गरी दमकल अर्थात् वारुणयन्त्र खरिद गर्ने निर्णय गरेको छ ।

सदरमुकाम मलंगवामा आइतबार बसेको बैठकले नजिकका पालिकाबीच समन्वय गरी दमकल खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । अघिल्ला वर्ष पनि यस प्रकारको निर्णय भएकोमा दमकल खरिदका लागि पालिकाबीच समन्वय भने हुन सकेको थिएन् ।

सर्लाहीमा अहिले २० वटा पालिकामध्ये उत्तरी भेगमा हरिवन नगरपालिका र दक्षिणी भेगमा मलंगवा नगरपालिकासँग मात्रै दमकल छन् । बाँकी १८ वटा पालिका दमकलविहीन छन् । यि १८ वटा पालिकामा आगलागी हुँदा हरिवन वा मलंगवाको दमकल बोलाउनुपर्ने बाध्यता छ । टाढाबाट धेरै समय लगाएर दमकल पुग्दा आगलागीबाट धेरै क्षति भइसकेको हुन्छ ।

यो समस्यालाई मध्यनजर गर्दै जिल्ला व्यवस्थापन समितिको बैठकले फेरि एक पटक पालिकाबीच समन्वय गरी दमकल खरिद गर्ने निर्णय गरेको हो । दमकल खरिद तथा सञ्चालनका लागि पूर्वी भेगका पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिपूर्वा नगरपालिका र ईश्वरपुर नगरपालिकाबीच समन्वय गर्ने भनिएको छ ।

त्यसैगरी, पश्चिमी भेगमा बलरा नगरपालिका, गोडैता नगरपालिका, बसबरिया गाउँपालिका र धनकौल गाउँपालिकाबीच दमकल खरिदका लागि समन्वय गर्ने भनी निर्णय भएको छ । बैठकले सर्लाही जिल्लाका लागि प्रदेश सरकारबाट समेत दमकल माग गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा वर्षायाममा हुनसक्ने बाढी, डुबान तथा कटान नियन्त्रणका लागि आवश्यक तयारी गर्नेलगायत विपद्को सम्वन्धमा अन्य विभिन्न निर्णय भएका छन् ।