logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पनि छटपटी हुने गरी गर्मी, पानी पर्न सकेन


  • उज्यालो अभियान

सर्लाहीको सोल्टीमा गर्मी छल्न चौतारोमा बसेका सर्वसाधारण । तस्बिर : उज्यालो अभियान

लालबन्दी  – सर्लाहीमा आज (आइतबार) पनि आम मानिसमा छटपटी हुने गरी गर्मी छ ।

हिजो अस्ती झैँ बिहानबाट हपक्क गर्मी हुँदा जनजीवन प्रभावित बनेको हो । यस क्षेत्रमा गएराति पनि अत्यधिक गर्मी भएको थियो । गर्मीकै बेलामा केही क्षेत्रमा बिजुली बत्ती कटौति भइरहने समस्याले स्थानीय थप प्रभावित बनेका छन् । एक साता अघिदेखि बढेको गर्मी कम हुन सकेको छैन् ।

बरु दिनहुँ बढेक्रममा छ । लगातारको चर्को घाम, तातो हावा र अत्यधिक गर्मीले मानिस शिथिल भइरहेका छन् । दिनभर एक टन्कारको चर्को घाम र तातो हावा चल्दा अत्यधिक गर्मी हुन्छ । साँझ र रातको समयमा पनि अत्यधिक राप हुँदा गर्मी धेरै नै हुन्छ ।

मजदुरी गर्न र काम विशेषले बाहिर निस्कनुपर्नेहरु गर्मीको मार खेप्न बाध्य छन् । घरमै बस्दा पनि पंखाको सहाराबिना बस्न सक्ने अवस्था छैन् । गर्मीले मानिस बिरामी नै पर्न थालेका छन् । गर्मी छल्न गाउँघरतिर मानिसहरु छहारीमा बस्ने गरेका छन् । यहाँको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलंगवालगायत बजार क्षेत्रमा अझ बढी गर्मी छ ।

यहीबेला लामखुट्टेको टोकाई उत्तिकै हुन्छ । चिकित्सकले प्रशस्त पानी पिउन, धुलो धुँवाको प्रदुषणबाट बच्न बाहिर निस्कँदा मास्कको प्रयोग गर्न र सुत्दा झुलको प्रयोग गर्न सुझाव दिएका छन् ।

गर्मी बढ्दै जाँदा यहाँको राजमार्ग छेउछाउमा खरबुजाको व्यापार राम्रो हुन थालेको छ भने चिसो पिये पदार्थ धेरै बिक्न थालेका छन् ।