logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सासापुर स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु


  • उज्यालो अभियान

सासापुर – सर्लाहीको हरिवन नगरपालिकाले सासापुर स्वास्थ्य चौकीमा सोमबारबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

यो सेवा अन्तर्गत काठमाडौंका विभिन्न अस्पतालसँग समन्वय गरी स्वास्थ्य चौकीका चिकित्सक र बिरामीसँग भिडियोमार्फत प्रत्यक्ष कुराकानी गराइने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार टेलिमेडिसिन सेवा अन्तर्गत अब प्रत्येक महिना विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत यहाँका चिकित्सक र बिरामीको सोझै कुराकानी गराइने छ ।

अहिलेसम्म न्यूरो सर्जन, बाथ तथा नशा रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञलगायतसँग भिडियोमार्फत स्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था मिलाइएको छ । नगरभित्रका अतिविपन्न वर्गका मानिसले स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन सकुन् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा प्रारम्भ गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले बताए ।

नगरपालिकाले केही महिनाअघि देखिनै बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर नरेन्द्रराज मैनालीलाई महिनामा एक दिन सासापुर स्वास्थ्य चौकीमै ल्याएर उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

यो स्वास्थ्य चौकीलाई नगर अस्पतालकै रुपमा स्तरोन्नति गर्दै लगिरहेको हरिवन नगरपालिकाले स्वास्थ्य चौकीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, भिडियो–एक्सरे, ल्याब, खकार परीक्षण, अल्ट्रासाउण्डलगायतको सेवा सञ्चालन गरेको छ ।