मलंगवा – सर्लाहीको क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका सांसद डा.अमरेश कुमार सिंहले सोमबार प्रतिनिधि सभा बैठकमै कपडा खोलेर विरोध जनाएपछि उनको चर्चा चुलिएको छ ।
गएको मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह गठवन्धनका उम्मेदवारलाई पाखा लगाउँदै तेस्रो पटक सांसदमा निर्वाचित भएका थिए । कांस्रेसबाट दुई पटक सांसद भएका सिंहलाई यो पटक पार्टीले निकट नदिएपछि तत्कालिन ५ दलिय गठवन्धनबाट पार्टीको उम्मेदवार बनेका नागेन्द्र राय यादव र शिवपुजन रायकी छोरी मधुमालालाई पराजित गर्दै स्वतन्त्रबाट सांसदमा निर्वाचित भएका हुन् ।
त्यहाँदेखि नै चर्चामा आइरहेका सांसद सिंहले सोमबार संसद बैठक चलिरहँदा कपडा नै खोलेर फरक ढंगले भ्रष्टाचारको विरोध गरेका हुन् । बैठकको सुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएनन् ।
सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे ।
अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए । सांसद सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्धवस्त्र भएको बताए ।
बैठकबाट बाहिरिँदै पत्रकारसँग कुरा गर्नेक्रममा उनले पटकपटक सभामुखसँग समय मागेको तर समय नपाएको समेत बताए । ‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ तर मलाई बोल्न दिइएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ,’ उनले भने, ‘मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन । म अर्धवस्त्र भएकै हो ।’
अर्धवस्त्र भएर विरोधको परकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए । अर्धवस्त्र भएको कारण जस्तोसुकै सजाय दिए पनि आफू भोग्न तयार रहेको समेत उनले बताए ।
यसैबीच, स्वतन्त्र सांसद सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी परेको छ । सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले उजुरी दिएका हुन् ।
उजुरी दिने ठाकुर कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह निकटका हुन् । सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता खरिद गरेको र अस्वाभाविक रुपमा आर्थिक हैसियत कायम गरेको आरोप छ ।
अमरेशलाई यो पटक पार्टीबाट टिकट नदिन सभापति सिंहलगायतका नेताहरु दह्रोसँग लागिपरेका थिए । ४ नम्वर क्षेत्रमा विकासप्रेमी नेताको रुपमा छवि बनाएका अमरेशले स्वतन्त्रबाट लडेरै पनि चुनाव भने जिते ।
सिंहको पहलमा ४ नम्वर क्षेत्रमा सडक विस्तार, कालोपत्रे, विद्यालय भवन निर्माणदेखि अन्य भौतिक विकासका काम प्रशस्तै भएका स्थानीयले बताएका छन् ।