बरहथवा – सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीनवटा घर र एउटा गोठ जलेका छन् ।
आगलागीबाट बरहथवा नगरपालिका–११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिए । सो आगलागीबाट जगेश्वर रायको गोठ जलेको छ ।
दिउँसो चर्को घाम र हावा चलिरहेका बेला अचानक बस्तीमा आगलागी भएको हो । गाउँले, प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले बताए ।
घर जलेपछि अतिविपन्न धर्मेन्द्र र होरिलको परिवार बिचल्लीमा परेको वडाध्यक्ष राईले बताए । आगलागीको कारण खुल्न सकेको छैन् ।
प्रहरीका अनुसार आगलागी दुईवटा फूसका घर र गोठ जल्दा दुई लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको छ । यस्तै, धनकौल गाउँपालिका–३, मा आगलागी दिउँसो भएको आगलागीबाट अतिविपन्न अनुठा महतोको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट घर तथा घरभित्र रहेका सरसामग्री जल्दा अनुठाको परिवार पनि बिचल्लीमा परेको स्थानीयले बताएका छन् । यो आगलागी स्थानीय र प्रहरी भएर निभाएका छन् । प्रहरीका अनुसार धनकौलको उक्त आगलागीबाट ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
अहिले अत्यधिक तापक्रम, गर्मी र हावाहुरीमा आगलागी भइहाल्ने जोखिम रहेकाले जथाभावी आगो नबाल्न र आगोजन्य पदार्थको प्रयोग गर्दा चनाखो हुन सर्लाही प्रहरीले आग्रह गरेको छ ।