लालबन्दी – सर्लाहीसहित आसपासका जिल्लामा गर्मी फेरि बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ ।
यस क्षेत्रमा ३/४ दिन सामान्य झरी पर्दा गर्मी निकै कम भएको थियो । तर, अस्ती शुक्रबारबाट पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेसँगै गर्मी पुनः बढेको हो । सर्लाहीमा आज पनि बिहानैदेखि चर्को घाम लागिरहेको छ । हपक्क गर्मीले बाहिर निस्कन र घरमै बस्न पनि गाह्रो पर्न थालेको स्थानीय बताउँछन् । अझ मजदुर र किसान झनै बढी प्रभावित भएका छन् ।
यही बेलामा ज्वरो, रुघाखोकी, झाडावान्ता, अपजलगायत गर्मीजन्य संक्रमण भएका बिरामी बढेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । चर्को घाम लागेर तापक्रम बढ्न थालेसँगै कच्ची सडकहरुमा अत्यधिक धुलो उड्न थाल्दा जनजीवन प्रभावित बनेको हाम्रा संवाददाताहरुले जनाएका छन् । पानी पर्दा उघ्रिएको यहाँको आकाश अहिले फेरि धुलो–धुँवाले ढाकेको छ ।
यतिबेला जिल्लाको उत्तरी भेगका किसान मकै रोप्न ब्यस्त छन् भने सिँचाईको सुविधा रहेका क्षेत्रका किसानलाई भने पाकिसकेको हाइब्रिड मकै थन्काउने चटारो रहेको छ । ३/४ दिनको झरीले यस क्षेत्रमा हरियाली बढाउँदा पशुपालक किसानलाई केही राहत मिलेको छ ।