logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डीजे जडान भएको भारतीय गाडीको ठक्करबाट एकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – नवलपुर मलंगवा जोड्ने सडकखण्ड अन्तर्गत हरैयामा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–४ हरैयामा गत राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय बीआर ३० ए २७२१ नम्बर प्लेटको गाडीले सोही दिशातर्फ पैदल जाँदै गरेका चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठालाई ठक्कर दिएको हो ।

डीजे गाडीको ठक्करबाट सख्त घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतीमा हुइँकिएको गाडीले पैदल यात्रीसँगै ना ६५ प ४१६० नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीजेका गाडी संचालक कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

डीजेका कारण दुर्घटना हुने गरेको भन्दै स्थानीय प्रशासनले डीजे बजाउन रोक लगाए पनि यसको अवज्ञा भइरहेको छ । जिल्लामा संचालनमा रहेका डीजेहरु भारतीय नम्बर प्लेटको गाडीमा जडान गरिएको छ ।

यस्तै हरिपुर्वा नगरपालिका–५ स्थित भित्री सडकमा गत बुधबार भारतीय बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाठ सख्त घाइते भएका हरिपुर्वा–८ का ६० वर्षीय रामउगर राय यादवको उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।

दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका यादवलाई उपचारका लागि महोत्तरीको एक अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र त्यसका चालक भने प्रहरी नियन्त्रणमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।