फाइल तस्बिर ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १३ बसबरिया क्याम्प टोलमा सिँचाईको जग्गा भू–माफियाले हडप्न खोजेको भन्दै स्थानीयले आज (शनिबार) बिहानैदेखि चक्काजाम गरिरहेका छन् ।
वर्षौदेखि बजार बस्दै आएको मनुषमारा सिँचाई आयोजनाको जग्गा भू–माफियाको गिद्धे नजमा परेको स्थानीयको आरोप छ । सो जग्गा मालपोतका कर्मचारीसँग समेत मिलेर भू–माफियाले आफ्नो नाममा गराउन खोजेको भन्दै स्थानीयवासी विरोध स्वरुप चक्काजाममा उत्रिएका हुन् ।
उनीहरुले बिहान सबेरैदेखि बरहथवा–मधुवनी सडक अन्तर्गत बरहथवा १३ स्थित सशस्त्र प्रहरीको बसबरिया क्याम्प अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । जनप्रतिनिधिले समेत भू–माफियाको पक्षमा काम गरेकाले आफूहरु बाध्य भई आन्दोलनमा उत्रिनु परेको स्थानीय सुरेन्द्र महतोले बताए ।
पछिल्लो समय जिल्लामा भू–माफिया सक्रिय भई सरकारी जग्गा आफ्नो बनाउने तथा जग्गाधनीलाई अनेक किसिमका दुःख दिने काम गर्दै आइरहेका छन् । यस कार्यमा मालपोतकै कार्यालय प्रमुख र अन्य कर्मचारीले सहयोग गर्दै आइरहेको आरोप लाग्ने गरेको छ ।