logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी : भत्ता लिन वृद्धवृद्धा बिहान ८ बजेदेखि नै लाइनमा


  • उज्यालो अभियान

बिहीबार बिहान ८ बजेतिर लालबन्दीस्थित सिद्धार्थ बैंक तल आएर भक्ता लिन बसेका परवानिपुरका वृद्धाहरु । (तस्बीर : जनक कार्की)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन असाध्य सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

भत्ता लिनकै लागि कतिपय वृद्धवृद्धा बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्न थालेका छन् । लालबन्दी नगरपालिका १६ परवानिपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैंङ्कको शाखामा आएर लाइन बसेको उज्यालो अभियानसँग बताईन् ।

भत्ता बुझ्नका लागि बस्नेतसहित परवानिपुरका छ जना वृद्धा टेप्पु चढेर बिहीबार बिहान ८ बजे नै लालबन्दी आइपुगेका भेटियो । बैङ्क खुलेपछि पनि झरीमा भिज्दै लाइन बस्नेहरुको ठूलो भीड देखिन्थ्यो ।

वृद्धवृद्धाले प्रत्येक पटक भत्ता निकासा हुँदा घाम पानी नभनी यसैगरी लाइनमा बसेर भत्ता बुझ्दै आएका छन् । शिवमायासँगै भत्ता बुझ्न आएकी ७४ वर्षीया सावित्रा कार्कीले वृद्ध भत्ता कटौति हुने हल्ला सुनेर पनि आफूहरु हतारहतार भत्ता बुझ्न आएको बताईन् । “हामी प्रायः यसैगरी लाइनमै बसेर भत्ता बुझ्छौँ, अहिले त झन भत्ता दिँदैनअरे भन्ने सुनेर सबै जना हतारहतार आएका हौँ,” कार्कीले उज्यालोसँग गुनासो गर्दै भनिन् “अली सहज रुपमा भत्ता पाउन पाए हुन्थ्यो, यसरी घण्टौँ लाइनमा बस्दा हामी बुढाबुढीलाई असाध्य गाह्रो हुन्छ ।”

लालबन्दी नगरपालिका १६ का वडा सचिव विष्णु गौतमले रकम निकासा हुनासाथ बैङ्कमा एकैसाथ सबै वृद्धवृद्धा पुग्दा समस्या हुने गरेको बताए । धेरै भीड हुन थालेपछि वृद्धवृद्धालाई उभिन गाह्रो पर्ने र बैङ्कलाई पनि सेवा दिन अप्ठेरो परेपछि बैङ्कको आग्रहमा वडा कार्यालयबाटै एक दिनमा ५० जनालाई मात्रै टोकन दिएर पठाउने गरिएको वडा सचिव गौतमले बताए ।

“वडाबाटै भत्ता बाड्न सरकारले स्वीकृत दिँदैन्, त्यसका लागि बैङ्क समेत तयार छैन्,” वडा सचिव गौतमले बिहीबार दिउँसो उज्यालोसँगको कुराकानीमा भने, “भत्ता खातामा हालेपछि हामीले साबिकको वडा अनुसार दैनिक ५० वटा टोकन बाँड्छौँ तर तुरुन्त पैसा निकाल्न भन्दै एकैपटक सबैजना पुग्दा यस्तो समस्या भएको हो ।”

अब भत्ता नै काटौति गर्न लागेको छ भन्ने गलत हल्ला फिँजाई दिँदा खातामा जम्मा भएको पैसा निकाली हालम् भन्नेहरुको भीड लागेको वडा सचिव गौतमको भनाई छ । वडा नं. १६ को वडा कार्यालयले इच्छुक वृद्धवृद्धाबाट मञ्जुरी पत्र लिएर उनीहरुको छोरा, बुहारीलगायत परिवारका अन्य सदस्यले समेत भत्ता बुझ्ने व्यवस्था मिलाइएको जनाएको छ ।

लालबन्दी नगरपालिकाले १७ वटा वडाको लालबन्दी बजार क्षेत्रमा रहेका १४ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट भत्ता बाड्दै आएको छ । सिद्धार्थ बैङ्कमा वडा नं. १५, १६ र १७ गरी तीनवटा वडाको भत्ता पठाउँदा धेरै नै भीड भएपछि यो किस्तादेखि वडा नं. १७ रानिगञ्जको सामाजिक सुरक्षा भत्ता कुमारी बैङ्कबाट बाँड्न थालिएको लालबन्दी नगरपालिका पञ्जिकरण शाखाकी प्रमुख सुष्मिता गौतमले बताईन् ।

लालबन्दी नगरपालिकाको दुगर्म भेगमा पर्ने वडा नं. १४ नारायण खोला र वडा नं. १५ परवानिपुरको माथिल्लो भेगका वासिन्दाले घण्टौं धाएर लालबन्दी बजारसम्म आउनुपर्ने र त्यहीँमाथि लाइनमा बस्नुपर्दा सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भइरहेको गुनासो गरेका छन् ।