फाईल तस्बिर ।
मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा आज (शुक्रबार) बाट सूचारु हुँदै छ ।
कार्यालयमा गएको मंगलबार विद्युत् सर्ट भएर आगलागी भई विभिन्न उपकरणमा क्षति पुग्नुका साथै पूरै वाइरिङ समेत जलेपछि सेवा अवरुद्ध भएको थियो । क्षतिग्रस्त वाइरिङ मर्मतको काम हिजोबाट पूरा भएको र नागरिकता प्रतिलिपी फाँटमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानरको व्यवस्था समेत मिलाएर आज शुक्रबारदेखि सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
मंगलबारदेखि हिजो सम्म ३ दिन सीडीओ कार्यालयको सेवा ठप्प हुँदा सेवाग्राही भने मारमा परेका छन् । यसैबीच, आज वुद्ध जयन्तीको दिन सार्वजनिक बिदा परेपनि जिल्ला प्रशासन कार्यालयले आज पनि नागरिकता सम्वन्धी सेवा, राहदानी सम्वन्धी सेवा र राष्ट्रिय परिचय पत्र सम्वन्धी सेवा दिने भएको छ ।
नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्वन्धी काम परेका सेवाग्राहीले आज कार्यालयमा आएर सेवा लिन सक्ने प्रजिअ यादवले बताए ।