logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुसहर महिलालाई सचेतनामूलक तालिम प्रदान


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–८, जुटपानीका मुसहर महिलालाई ५ दिने सचेतनामूलक तालिम प्रदान गरिएको छ ।

मुसहर महिलाको उत्थानमा क्रियाशील साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले जुटपानीका ४५ जना भन्दा बढी मुसहर महिलालाई जीवन उपयोगी तथा सचेतनामूलक तालिम प्रदान गरेको हो । तालिमको बिहीबार समापन गरिएको हो ।

सहभागी मुसहर महिलालाई बालबालिकालाई पढाउने, सरसफाई गर्ने, जाँड–रक्सी नखाने, स्थानीय तहमा गएर बजेट माग गर्नेलगायतका विषयमा ५ दिनसम्म तालिम प्रदान गरिएको साप–नेपालका कर्मचारी मनोज कुमार पासवानले जानकारी दिए । सहभागी महिलालाई साप नेपालका कार्यक्रम संयोजक जनक कार्की, कर्मचारी मनोजकुमार पासवानलगायत भएर तालिम प्रदान गरेका हुन् ।

मुहर महिला सन्जाल जुटपानीकी अध्यक्ष बालकुमारी माझीले निरन्तर यस्तै प्रकारको सचेतनामूलक कार्यक्रम र तालिम प्रदान गर्दा आफूहरुमा धेरै परिवर्तन आएको बताईन् । उनले यो ५ दिनको तालिमपछि मुसहर महिला दिदी बहिनी थप जागरुक, सचेत र उर्जाशील बनेका बताईन् ।

तालिमको समापनमा उपस्थित हरिपुर ८ का वडाध्यक्ष हरिबहादुर थापाले मुसहर बस्तीमा ५ दिनभित्रै सार्वजनिक चापाकल गाडिदिने र अन्य थप लाभका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै, नवजीवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानीका प्रधानाध्यापक भलबहादुर अधिकारीले पछिल्लो समय साप–नेपालले मुसहर महिलालाई सक्रिय पारेपछि मुसहर बालबालिका पनि विद्यालय पढ्न आउनेक्रम बढेको बताए ।

उनले यो वर्ष ५÷७ जना मुसहर बालबालिकालाई कुनै शुल्क नलिई अध्ययन गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अभावको जीवन निर्वाह गरिरहेको मुसहर समुदायका बालबालिका दयनिय अवस्थामा विद्यालय आउने गरेको भन्दै उनीहरुलाई निरन्तर साथ र सहयोगको खाँचो रहेको बताए ।

यस्तै, मुसहर महिलाको आवाज समेटेर रेडियो कार्यक्रम उत्पादन तथा मुसहर महिलाको सवालमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार जनार्जन खत्रीले साप नेपालले कार्यक्रम संचालन गरेपछि आफूले हरिपुर, चन्द्रनगर, बरहथवा र बसबरियामा मुसहर महिलामा बोल्ने बानीको विकास, आफ्ना र आफ्नो समुदायको समस्या जनप्रतिनिधिसहित अन्य सरोकारवालालाई खुलेर राख्न सक्ने भएको पाएको बताए । स्थानीय तहले इँटा भट्टामा मजदुरी गर्न बाध्य मुसहरलाई गाउँठाउँमै तरकारी खेती, बंगुरपालनलगायतका रोजगारी दिन सके आर्थिक उन्नति र उनीहरुको बालबालिकाले पनि नियमित अध्ययन गर्न पाउने बताए ।