लालबन्दी ५ स्थित रेडियो एकताबाट देखिएको लालबन्दी क्षेत्रको दृश्य ।
लालबन्दी – केही दिन सामान्य वर्षा भएपछि अहिले सर्लाहीको मौसम सफा भएर उघ्रिएको छ ।
पानी परेर धुलो धुँवाको प्रदुषण कम भएसँगै वातावरण सफा देखिएको हो । पानी नपर्दा यस क्षेत्रको आकाश धुलो धुँवाले ढाकेको थियो भने बाहिर निस्किँदा आँखा पोल्ने समस्या थियो । पानी परेपछि त्यो समस्या हटेको छ ।
तत्कालका लागि कच्ची सडकहरुमा धुलो उड्न कम भएको छ । वनमा लागेको डढेलो निभेर पालुवा पलाउन थालेका छन् । पानी परेपछि यस क्षेत्रमा गर्मी धेरै हदसम्म कम भएको महशुस सर्वसाधारणले गरेका छन् ।
बिहान–बेलुका र रातको समयमा चिसो फर्किएको छ । दिउँसोपख बेलाबेलामा सिमसिम पानी पर्ने, धाम्मधुम्म हुने र घाम लाग्ने भइरहेको छ । तापक्रम घट्दा मानिसहरु आ–आफ्नो काममा सहज रुपमा निस्किन थालेका छन् ।
सर्लाहीमा आज बिहानैबाट घाम लाग्ने र बेलाबेलामा धाम्मधुम्म हुने भइरहेको छ । अहिले मौसममा आएको बद्लीसँगै मानिसहरुमा भने घाँटी दुख्ने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएका छन् । यहाँका निजी क्लिनिक, गाउँघरका स्वास्थ्य चौकी र अस्पतालहरुमा बिरामीको चाप बढेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।