मलंगवा – सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा अवरुद्ध भएको छ ।
मंगलबार बिहान विद्युत् सर्ट भइ कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कार्यालयमा बिहान पौने ६ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित नै रहेको बताए । आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ ।
“महत्वपूर्ण फाँटको उपकरण र कार्यालयभरीकै वाइरिङ सर्ट भएपछि सेवा दिन सक्ने अवस्था रहने,” प्रजिअ यादवले उज्यालो अभियानसँग भने “अब नयाँ वाइरिङको काम सकेपछि सेवा सूचारु गर्छौँ ।” उहाँका अनुसार वाइरिङको काम गर्न भोली (वुधबार) सम्म लाग्न सक्छ ।
कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले नागरिकता प्रतिलिपी फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको बताए । जिल्ला प्रशासन कार्यालयले २० मध्ये १६ वटा पालिकाका वासिन्दालाई सेवा दिँदै आएको छ । नियमित सेवा प्रवाह गर्दा समेत कार्यालयमा सेवाग्राहीको भीड नै हुन्छ ।
आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय–पत्रलगायतको सेवा लिने सेवाग्राही मारमा परेका छन् ।