मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग निवेदन माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना जारी गर्दै कार्यालयमा स्थापना गरिएको सहायता कक्षामा सम्पर्क गरी यही वैशाख ३१ गतेसम्म निवेदन फारम भर्न जिल्लाका मिटरब्याज पीडितसँग आह्वान गरेका हुन् । सूचनामा पीडितलाई आफूसँग भएसम्मका सबुद प्रमाणसहित कारोवार÷लेनदेन भएको व्यहोरा लिएर आउन भनिएको छ ।
पीडितले जनकपुरमा आइतबार भर्खरै खुलेको जाँचबुझ आयोगको कार्यालयमा अनलाइनबाट समेत सोझै निवेदन दिन सक्ने बताइएको छ । पीडित जिल्ला प्रशासन कार्यालयमै आए निःशुल्क फारम पाउने र कार्यालयकै कर्मचारीबाट फारम भर्ने व्यवस्था समेत मिलाइएको सर्लाहीका सहायक प्रमुख अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।
सर्लाहीमा यसअघि मिटरब्याजी पीडितको ६८० वटाको हाराहारीमा निवेदन परेको थियो । यसअघि निवेदन दिएकाले समेत अहिले माथिबाटै आएको फरम्याट अनुसार पाँच पृष्ट भएको निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
अन्य जिल्लाको तुलनामा सर्लाहीमा मिटरब्याज पीडित धेरै नै छन् । पीडितले यसअघि दिएको उजुरीका आधारमा यहाँका खुङ्खार मिटरब्याज साहु श्याम परदेशी भन्ने श्यामकृष्ण साह र सञ्जय रौनियार पूर्पक्षमा कारागारमै रहेका छन् ।