बुधबार बिहान लालबन्दीस्थित धुम्मिएको मौसम ।
लालबन्दी – सर्लाहीको मौसम आज (सोमबार) धुम्मिएको छ ।
पानी पर्ला जस्तो भई जिल्लाभरकै मौसम धुम्म भएको हो । सर्लाहीमा हिजो उत्तरी भेगका लालबन्दी, हरिवनलगायत क्षेत्रमा दिउँसोपख एक झर ठूलै पानी परेको थियो । तर, मलंगवासहित दक्षिणी भेगमा भने मौसम धुम्मिए पनि पानी पर्न सकेन ।
मौसममा आएको बदलीसँगै आज जिल्लाभर नै गर्मी कम छ । हिजो पानी परेको उत्तरी भेगका स्थानीयले चिसो नै महसुस गरिरहेका छन् । पानी परेपछि यस क्षेत्रमा धुलो–धुँवा कम भएको छ भने वन क्षेत्रमा लागेको डढेलो पनि निभेको स्थानीयले बताएका छन् ।
अब वन क्षेत्रमा पालुवा पलाउने आशा किसानले गरेका छन् । लालबन्दी नगरपालिका पत्थरकोटका किसान अष्टबहादुर लामाले हिजोको वर्षापछि किसानलाई राहत मिलेको बताए ।
आकाशे वर्षाकै भरमा खेती गर्ने उत्तरी भेगका किसानले अब मकै छर्ने तयारी गरेका छन् ।